logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप हुँदै


  • जन आकाश
  • बुधबार, भाद्र २९ २०७९

 



काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको हो ।

भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने आयोजकले अनुमान गरेको छ । खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताएका छन् । दुई वर्षअघि आयोजित कार्यक्रममा ४३ जिल्लाका खेलाडी सहभागी थिए ।

१४७ ब्रेक प्वाइन्ट ल्याए १० लाख पुरस्कार

स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ । त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन् ।

संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन् । हाल नेपाल नम्बर एक रेगन श्रेष्ठले बुधबारै १४० ब्रेक प्वाइन्ट ल्याएर कीर्तिमान बनाएको उनले जानकारी दिए ।

त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइने उल्लेख छ । प्रतियोगिताका लागि खेलाडीले ३ हजार रुपैयाँ दर्ताशुल्क बुझाउनु पर्ने नियम रहेको आयोजकले बताउको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend