logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

१६ औं स्मृति दिवसमा हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा


  • जन आकाश
  • शुक्रबार, असोज ७ २०७९

 



काठमाडौं । स्वर्गीय डा. हर्क गुरुङको १६ औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो ।

‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षक सहित आयोजना गरिएको कार्यक्रममा स्वर्गीय डा. गुरुङका विद्यार्थी प्राध्यापक डा. भीम प्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डा. गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुराउनु भएको योगदानको चर्चा गरिएको थियो । ‘‘स्वर्गीय डा. गुरुङ यस्ता सर्वस्विकार्य व्यक्तित्व हुनुहुन्थ्यो कि उहाँले बोलेपछि सबैले विश्वास गर्थे । उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सीमित गर्नु कठीन छ । नेपालको भविश्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो ।उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरुबाट पनियो तथ्य प्रमाणित भएको छ’’, प्राध्यापक डा. सुवेदीले स्वर्गीय डा. गुरुङबारे भन्नुभयो ।

भुगोलविद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. गुरुङको १६ वर्षअघि बन्यजन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी देहान्त हुनु भएको थियो ।

उहाँकै सम्झनामा एनएमएस हित गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त आयोजना स्मृति सभाको आयोजना गरेको हो ।

कार्यक्रममा एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले स्वर्गीय डा. गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताउनु भयो । ‘‘नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उहाँ मन्त्री हुँदा एनएमए मार्फत प्राप्त कार्डलाई मान्यता प्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथ प्रदर्शक र अन्य कर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम उहाँले गर्नुभएको छ’’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘‘उहाँ नहुनु भएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’’

कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित व्यक्तित्व हरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यू एराकायोगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend