जन आकाश
पोखरा । नेपाली फुटबलको सबैभन्दा सफल मानिएको मनाङ मर्स्याङदी क्लबले नयाँ खेलाडी र नयाँ प्रशिक्षकबाट नयाँ सिजन सुरु गर्न लागेको छ ।पोखरामा चलिरहेको आहा रारा पोखरा गोल्डकप फुटबलमा भुटानको भुटनिज युथ स्पोर्टस क्लबसँग खेल्न लागेको मनाङमा प्रशिक्षक र १ जना बाहेक सबै खेलाडी नयाँ छन् ।
१२ पटक आहा रारा गोल्डकपको फाइनल खेलेको र ६ पटक उपाधि जितेको मनाङमा गत सिजन खेलेका सरोज लामाले मात्र निरन्तरता दिएका छन् ।क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको छ । मनाङले घोषणा गरेको टिममा अधिकांश युवा खेलाडी छन् ।
मनाङले एक विज्ञप्ति निकालेर नयाँ सिजनका लागि युवा खेलाडीमाथि विश्वास गरेको बताएको छ । ‘उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबन्ध गरेका छौं,’ मनाङले विज्ञप्तिमा भनेको छ ।
मनाङको टिममा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन् ।
‘मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ,’ मुख्य प्रशिक्षक किरण श्रेष्ठले भने, ‘नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोसिस गर्नेछु ।’
आहा रारा पोखरा गोल्डकपबाट नयाँ टिमलाई मैदान उतार्न लागेको मनाङले आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा बलियो चुनौती पेश गर्ने अपेक्षा राखेको पनि बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend