logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत, नेपाली माटो छोएर


  • जन आकाश
  • शुक्रबार, माघ ६ २०७९

गीत
उडेर गयौ आकाशमा
फर्केर आयौ बाकसमा
परदेशी पीडा बाध्यता
रोजगार छैन नेपालमा



परिवार खुसी पार्नलाई
दुईछाक खाना टार्नलाई
सबैथोक छोडी विदेशमा
दाम कमाइ जीवन धान्नलाई

मन्त्री र संसद अथाह
काममा सिन्को नभाँच
रेमिट्यान्स दिने युवा हो
खुसीले कहिल्यै ननाँच

सत्ता बदल्यो संविधान
व्यक्ति बदल्यो व्यवधान
खुलेआम लुटपाट भाकै छ
कसरी होला समाधान

जुन जोगी आए चिरेका
छालाको झोली भिरेका
सत्तामा पुगी रमाउँछन्
नेता भई नर्क छिरेका

युवायुवती परदेशमा
बालक वृद्ध स्वदेशमा
अर्म र पर्म बन्द भो
शून्यता भयो विकासमा

अब त हाम्रो पालो हो
भन्ने त झन् कालो भो
सत्तामा लम्पट हुनलाई
चुनाव मात्र जालो भो

अब त वाक्क भएर
छोड्दै छु देश रोएर
फर्केर आउने आशामा
नेपाली माटो छोएर।।

दीपक भण्डारी
१८ जनवरी २०२३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend