logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

 



काठमाडौ । नेपाल साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदा नेपाल पुनः उपविजेतामै सीमित बनेको हो । सन् २०१८ को पहिलो संस्करणमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेतामै चित्त बुझाएको थियो । वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल मैदानमा बंगलादेश अपराजित रहँदै च्याम्पियन बन्यो । बंगलादेशले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो ।

बंगलादेशको जितमा शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नति खातुनले समान एक गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा बंगलादेश १–० ले अघि बढ्यो । बंगलादेशकी शाहिदाले अग्रता गोल गरेकी हुन् । नेपाली रक्षक कुमारी तामाङले बक्सभित्रबाट क्लियर गरेको बललाई शाहिदाले नियन्त्रणमा लिएकी थिइन् । बक्सबाहिरबाट शाहिदाले प्रहार गरेको बल सीधै गोल भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले बंगलादेशलाई २–० को स्थितिमा राखिन् । नेपाली रक्षापंक्तिबीचको गतिलो तालमेल नभएको फाइदा उठाउँदै शामसुनाहारले गोल गरेकी थिइन् । प्रतियोगितामा उनको छैटौँ गोल हो । बंगलादेशकी शामसुनाहार सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चुनिइन् ।

खेलको ८७ औँ मिनेटमा उन्नतिले बंगलादेशलाई ३–० को सहज जित दिलाइन् । फ्रिकिक मार्फत प्राप्त बललाई उन्नतिले गोल लाइनबाट गोल गरेकी हुन् । प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रो भेटमा समेत हराउन सफल भयो । राउन्ड रोबिनको उद्घाटन खेलमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुईमा रहँदै बंगलादेश र नेपाल फाइनलमा पुगेका हुन् । बंगलादेशको तीन खेलबाट सात अंक र नेपालले ६ अंक बनाएको थियो । भारत र भुटान राउन्ड रोबिन लिगबाटै बाहिरिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend