logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साहित्यकार प्रा . रन्जुश्री पराजुली सम्मानित


  • जन आकाश
  • आइतबार, फाल्गुन १४ २०७९

 



काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम मिति २०७९/११/१३ शनिवारका दिन साहित्यकार प्रा . रन्जुश्री पराजुलीलाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित‌ गर्दै भव्यताकासाथ सम्पन्न भएको छ ।

 

उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा पराजुलीले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफू ज्यादै गौरवान्वित भएको कुरा व्यक्त गर्दै उपन्यास, नाटक, हांस्यव्यङ्ग्य,कविता आदि लेखेर साहित्यमा उहाँले प्रदान गर्नु भएको सेवाको उल्लेख गर्नु भयो ।

उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाउनाको साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको छ भन्नुभयो ।

उहाँलाई पढेको मात्र नभइ नजिकबाट देखेको, बोलेको र आफूले पढाउने पद्म कन्या कलेजको कार्यक्रममा प्रश्नहरू गरेको चर्चा गर्दै प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो । उहाँको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन ,श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।

सो कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार प्रा . पराजुलीको विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनुभएको छ भन्नुभयो ।

सो कार्यक्रममा कवि ज्ञान उदास,प्रा डा गोविन्दमान सिं कार्की, रत्न विरही घिमिरे मुकुन्द न्यौपाने
, विजयध्वज थापा, उत्तम विचार , लव खडका, जयराम विडारी, रूची सत्याल, रन्जुश्री पराजुली, भोलानाथ सुवेदी, कात्यायन , कुशुम शर्मा , सुशान्त के सी, भुवन सिवाकोटी चौघरे,बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्ण प्रसाद पौडेल, धरणीधर गुरागाईं, खुस्बु रिजाल, बद्री उप्रेती, नम्रता उप्रेतीले, आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

सो कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म चौहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्था हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend