जन आकाश
बागलुङ ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव पर्यटकीयस्थल ढोरपाटनमा मंगलवार सम्पन्न भएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रोत साधनको पहिचान र प्रचारमा सहयोग गर्ने उद्देश्यका साथ धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव विगत १० वर्षदेखि बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउदै आएको संस्थाले जनाएको छ ।
ढोरपाटन नगरपालिका वडा नं.९ स्थित ढोरपाटन शिकार आरक्ष कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले गरेका थिए । उद्घाटनमा मन्तव्य व्यक्त गर्दै उपप्रमुख कायतले विकासका लागि सबैभन्दा चेतना आवश्यक रहेको र आम समुदायलाई स्थानीय स्रोत साधनको पहिचान, परिचालन र प्रयोगका लागि सचेतना प्रदान गर्नु पर्नेमा जोड दिएका थिए ।
ढोरपाटन क्षेत्र शिकार आरक्ष मात्रै होइन, पर्यटन, कृषि लगायत धेरै हिसावले यो क्षेत्र मुलुककै आर्थिक विकासको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थलका रुपमा रहेको छ, तर सडक व्यवस्थित बनाउन नसक्दा ढोरपाटन चिनाउन नसकिएको उनको भनाइ थियो ।
ढोरपाटनको विकासका लागि हामीलाई खड्केको विषय सडक सञ्जाल हो, धेरै प्रयत्न सडक सञ्जालको विकासका लागि हामीले योजना, समन्वय र सहकार्य गर्दै आइरहेका छौ, उपप्रमुख कायतले भन्नुभयो–‘स्थानीय तहबाट मात्रै सडक सञ्जाल व्यवस्थित गर्न नसकिने अवस्था रहेकोले प्रदेश र संघीय सरकारका तर्फबाट प्रमुखताका साथ काम गर्न आवश्यक छ ।’
ढोरपाटनको पर्या पर्यावरणसंगै स्थानीय उत्पादनलाई बजारसम्म लैजानका लागि ढुवानी लगायतको समस्या समाधान गर्न सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताएका थिए ।
सालझण्डी ढोरपाटन सडक निर्माणका लागि ठेक्का लिएका ठेकदारहरुको लार्पावाहीका कारण सडक व्यवस्थित नभएको हो, राष्ट्रिय प्राथमिकताको योजनामा स्थानीय तहका तर्फबाट केही गर्न नसकिने रहेछ, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण आवश्यक रहेको उहाँको भनाइ थियो ।
सडक सञ्जालसंगै स्थानीय तह, स्थानीय वासिन्दा लगायत सरोकारवालाहरुबीचको समन्वयबाट ढोरपाटनलाई मुलुककै पर्यटनको गन्तव्य बनाउन, यहाँका स्थानीय स्रोतहरुलाई देश विदेशसम्म पु¥याउन सकिने भएकाले सबैका बीच सहकार्य गर्न उहाँले सरोकारवालाहरुलाई आव्हान गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई सुधार गरी ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बढी भन्दा बढी पर्यटकहरुलाई ल्याउनका लागि राज्यका तर्फबाट पहलकदमी आवश्यक रहेको कायतले उल्याएका थिए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष लक्ष्मण पुनले ढोरपाटन क्षेत्रका अवसर र चुनौतीको पहिचान गरी यसलाई मुलुककै पर्यटन प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण अवसर सिर्जना गर्नका लागि सञ्चारमाध्यमहरुको पहलकदमी प्रभावकारी बनाउनु पर्ने भन्दै सञ्चरकर्मीहरुलाई आग्रह गरेका थिए ।

ढोरपाटनको विकासका लागि सडक सञ्जाल प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै पुनले बागलुङ सदरमुकामदेखि घोडावाधेसम्मै धेरै समस्या रहेको र बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडकलाई व्यवस्थित गराउन सरोकारवालाहरुलाई आव्हान पनि गरेका थिए ।
ढोरपाटन नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष खीम बहादुर घर्तिले मुलुककै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको ढोरपाटन शिकार आरक्ष क्षेत्रको थप विकास र प्रवद्र्धनमा आदर्श सञ्चार सहकारी संस्था र यसमार्फत सञ्चालित सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहनेमा आफु विश्वस्त रहेको बताएका थिए ।
परम्परागत रुपमा जीवन निर्वाह गरिरहेका स्थानीयको जीवन स्तरलाई सुधार गर्न तथा स्थानीय स्रोत र साधनको पहिचान, संरक्षण र परिचालनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्न आफुहरु प्रतिवद्ध रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य लोकेन्द्र सुनारले सञ्चार क्षेत्रको संस्थागत विकासमा आदर्श सञ्चार सहकारी संस्था र संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको भूमिका उल्लेखनीय रहेको चर्चा गरेका थिए । संस्थाले सञ्चारक्षेत्रको संस्थागत विकाससंगै समुदायमा रहेका स्रोत साधनको पहिचान र परिचालनमा महत्वपूर्ण योगदान गरेको बताए ।
आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिल बहादुर कार्कीले ढोरपाटनको समग्र विकासमा आदर्श सञ्चार सहकारी संस्थाका तर्फबाट सदैव सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारी संस्थाको संक्षिप्त परिचय, धौलागिरी जागरण दैनिकको स्थापनादेखि हालसम्म सञ्चालनको अवस्था, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा गर्न सक्ने योगदान र पर्यटकीय क्षेत्रमा वार्षिकोत्सव मनाउनुका फाइदाका बारेमा सहजीकरण गरेका थिए ।
यस्तै ढोरपाटन शिकार आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत मन्दिप पंगेनीले कार्यालयको वार्षिक समिक्षा र हालसम्मका प्रगतिका बारेमा सहजीकरण गरेका थिए । पंगेनीले ढोरपाटनमा पछिल्लो समय पर्यटन र राजश्व दुबै बृद्धि गएको पनि बताएका थिए ।
आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सह–सम्पादक सिर्जना पन्तले गरेकी थिइन ।
धौलागिरी क्षेत्रमा पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले १७ वर्षदेखि धौलागिरी जागरण दैनिक, १० वर्षदेखि अग्रसर साप्ताहिक, ४ वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ९ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।
३ हजार ५ सय जना शेयर सदस्य रहेको आदर्श सञ्चार सहकारी संस्थामा ६ करोड शेयर पूँजि, ३२ करोड वचत, ३८ करोड ऋण लगानी सहित ४५ करोडको कुल सम्पत्ती रहेको संस्थाका कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले जानकारी दिएकी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend