logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नयाँ नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरण


  • जन आकाश
  • सोमबार, चैत्र ६ २०७९

काठमाडौ । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्य दीप ग्रुपले खाद्यउद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।



यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लाल भित्ती चोकमा ल्युबआयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नयाँ वर्ष २०८० पश्चात बैशाख महिना देखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्छन्, ‘सबै संरचना निर्माणको कार्य पुरा भइसकेको छ । बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ ।

हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौ  । युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युबआयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् । र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन् ।

बह राष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन् । उक्त उद्योग स्थापनाका लागि करिव ५० करोड रुपैयाँ लागत लाग्ने छ ।

एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफ भन्छन्, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौ ।’ बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानी योग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएल देखि २१० लिटर सम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ ।  नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिव ५० जनाले रोजगारी पाउने छन् । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend