जन आकाश
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर आफू अगाडि बढ्ने बताएका छन् । कलाकार संघको अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा उनले आफूसँग पराजित रेजिना उप्रेतीलाई पनि संघमा सम्मानपूर्वक समेट्ने प्रतिबद्धता जनाए ।
उनले उप्रेतीसँग अस्वस्थ प्रतिस्पर्धा र कटुता नभएको भन्दै अगामी दिनमा सहकार्य गरेर जान कुनै आपत्ति नरहेको धारणा राखे । ‘हामी पहिले पनि सँगै र अहिले पनि सँगैछौं । हामी मिलेर नै चलचित्र कलाकारहरुको वर्गीय हितमा लाग्नेछौं’, उनले भने उनले आफूहरु विवादित रुपमा चुनावमा नउठेको धारणा समेत राखेका थिए ।
अध्यक्षमा पराजित उप्रेतीले पनि विजयी निरौलालाई बधाई दिँदै चुनावी नतिजा सामान्य रुपमा लिएको धारणा राख्दै संघको साथमा सधैं रहने बताइन् । ‘दाईहरुलाई हेरेर म अगाडि बढेको हुँ । दाईसँग म यसरी एक साथ उभिन पाउनु पनि मेरो सफलता हो ’ उनले थपिन् ‘मैले हारभन्दा पनि जितको रुपमा परिणत गरेर कलाकार संघलाई अगाडि बढाउनमा दाईसँग हातमा हात मिलाएर काम गर्नेछु ।’ उनले अध्यक्ष हारे पनि संघको सदस्य भएको नाताले संघका लागि गर्नुपर्ने कामहरुमा पछि नहट्ने बताइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend