जन आकाश
काठमाडौं । वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले जानकारी दिए ।
जस अनुसार फिल्म (भाषाभाषी) सहितमा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा पाँच हजार र तेस्रो दिनमा सकिएमा ६ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । म्युजिक भिडियोको हकमा लोकपप, आधुनिक, भाषाभाषी सबैखाले गीतमा नृत्य गरेबापत एक दिनको दुई हजार रुपैयाँ र विदेशी फिल्मको हकमा प्रतिदिन तीन हजार रुपैयाँ पारिश्रमिक कायम गरिएको छ ।
‘वर्तमान समयको बजारभाउ, रासनपानी, महंगी लगायतलाई ध्यानमा राखेर पारिश्रमिक वृद्धिको निर्णय गरको हो । अध्यक्ष कार्कीले भने, ‘दुई वर्षसम्म यही रेट कायम रहन्छ । र त्यसपछि सिफ्ट सिस्टममा अघि बढ्ने तयारी छ ।’ सिफ्ट सिस्टमअनुसार काम गर्नेले राति १० बजेपछि अतिरिक्त ५० प्रतिशत पारिश्रमिक पाउने उनले जानकारी दिए ।
तत्काललाई सिफ्ट सिस्टममा अघि बढ्दा निर्मातालाई आर्थिक भार पर्ने देखियो । कार्कीले भने, ‘दुई वर्षसम्म यही पारिश्रमिक अनुसार कायम रहन्छौं ।’ नयाँ वर्षदेखि अनिवार्य रुपमा यो निर्णय लागु गर्ने जानकारी आफूहरुले चलचित्र निर्माता संघ, निर्देशक समाज र प्राविधिक संघलाई दिएको उनले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend