जन आकाश
काठमाडौ । सुदर्शन थापा निर्देशित फिल्म प्रसाद २ को नयाँ प्रदर्शन मिति तय भएको छ । कानुनी झमेलामा अलझिएसँगै फिल्म वैशाख १५ गतेदेखि प्रदर्शन हुने भएको हो । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो। निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २१ गते अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएको हो ।
थापाले निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोप छ । उनीविरूद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा गत फागुन २९ गते जाहेरी दिएका थिए ।राजनीतिक र सामाजिक कथाको फिल्म प्रसाद २ मा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् ।
उनीहरूको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ । विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठी लगायत कलाकारको अभिनय छ । फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend