logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आज देशभरका हलमा जारी फिल्म रिलिज हुँदै


  • जन आकाश
  • शुक्रबार, बैशाख १ २०८०

काठमाडौं । नयाँ वर्षको अवसर पारेर रिलिज भएको दयाहाङ राई स्टारर फिल्म ‘जारी’ले आक्रामक अकुपेन्सीसहित ओपनिङ गर्ने संकेत देखिएको छ । शुक्रबार देशभरका हल लगभग शतप्रतिशत भरिएका छन् ।



मध्यान्ह १२ बजेसम्मको विवरण अनुसार कुल शोमध्ये ७० प्रतिशत सोल्डआउट भइसकेका छन् । ‘विन्डो सेल’को आधारमा बेलुकासम्म बाँकी पनि शतप्रतिशत हुने देखिएको छ ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी’मा दयाहाङ, मिरुना मगर र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु पेश गर्छ । अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्मले मौलिक सांस्कृतिक कथावस्तुमा सरल र रमाइलो कथा भन्छ ।

दुई घण्टा लामो फिल्मले घरेलु बक्स अफिसमा डेढ करोड रुपैयाँ हाराहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शनिबार पनि आक्रामक कमाइ हुने स्पष्ट देखिएको छ । पूर्वी नेपालका सहरमा पहिलो सप्ताहन्तसम्मै सबै शो बिक्री भइसकेका छन् । धरानमा राति ११ बजेको शो राखिएको छ । पूर्वी नेपालका केही सहरमा हल हाउसफुल भएपछि अर्को सहरमा पुगेर फिल्म हेरेको केही दर्शकले बताएका छन् ।

काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्जसहितका ठूला सहरमा समेत फिल्मको अकुपेन्सी आक्रामक देखिएको निर्माताले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा यो फिल्म नेपाल रिलिज लगत्तै प्रदर्शनको तयारी भइरहेको छ । रिलिजको पूर्वसन्ध्यामा बिग मुभिजमा आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउ, सेलिब्रिटी लगायत उपस्थित रहे ।

दयाहाङकै अर्को फिल्म ‘बिहेपास’ पनि शुक्रबार नै प्रदर्शनमा आएको छ । विवाह र पारिवारिक कथावस्तुमा बनेको यो फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ पनि देखिएकी छन् । बिहेका लागि शीर्ष पात्रले गर्ने संघर्ष वरपर फिल्म घुमेको छ । प्रवेश पौडेल निर्देशित फिल्मले सन्तोषजनक ओपनिङ गर्ने देखिएको छ । ‘जारी’को ओपनिङको फाइदा ‘बिहेपास’लाई हुने अनुमान छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend