logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिला सहकारीकर्मीहरुका लागि संस्थागत दुई दिने अभिमुखीकरण


  • जन आकाश
  • बिहिबार, बैशाख ७ २०८०

बागलुङ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकासंगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण सम्बन्धी २ दिने कार्यक्रम बुधवारदेखि शुरु भएको छ ।



अन्नपूर्ण गाँउपालिका भित्र महिलाद्वारा सञ्चालित सहकारीमा आवद्ध महिला सञ्चालक तथा कर्मचारीहरुका लागि तालिम आयोजना गरिएको छ ।

महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकाससंगै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीको योगदान बढाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिएका छन् ।

महिलाहरुको आर्थिक विकास र सामाजिक अवस्था सुधार गर्नका लागि ग्रामिण क्षेत्रमा सहकारी सबैभन्दा उत्तम विकल्प हो, सहकारीमार्फत आयआर्जन, वचत लगायत क्षमता विकासमा समेत महत्वपूर्ण काम गर्न सकिन्छ, कार्यालय प्रमुख थापाले भनाई,–‘महिला शसक्तिकरणका लागि सहकारीलाई सहयोगी बनाउनका लागि सहकारीको नेतृत्व र व्यवस्थापनमा रहेका सहकारीकर्मी महिलाहरुको क्षमता विकास गर्नु पर्दछ ।’

तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीलाई दिगो, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि रणनीतिक योजना निर्माण गरी स्पष्ट लक्ष्यका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।

तालिमको शुभारम्भ अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का अध्यक्ष रमेश पुर्जाले गरेका छन् । कार्यक्रमको सञ्चालन मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया विटालुले गरेका छन् ।

कार्यक्रममा अन्नपूर्ण गाउपालिकामा सञ्चालित महिला सहकारीहरु सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाना, निलगिरी महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारच्याङ, न्यू कान्छी बराही महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिख र सयपत्री महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिखका सञ्चालक र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो ।

साविकको महिला विकास कार्यालयद्वारा सञ्चालित महिला सहकारीहरुको संस्थागत विकासमा योगदान गर्ने योजनाका साथ सामाजिक विकास कार्यालय म्याग्दीले संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend