जन आकाश
काठमाडौं । दोस्रो बागमतीप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि बिहीबार काठमाडौंले जितेको छ । गौरीटार रंगशालामा भएको फाइनल खेलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा १–१ गोल ग¥यो ।
सुजिता घलानले १०औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोश्रो गोल मनीषा थापामगरले ५८औं मिनेटमा गोल गरिन् । काठमाडौंकी सरिता ऐर २ वटा व्यक्तिगत विधामा पुरस्कृत भइन् । सरिता प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् ।
काठमाडौंकी झरना नगरकोटी उत्कृष्ट गोलरक्षक, सिन्धुलीकी सन्जिता मगर उत्कृष्ट डिफेन्डर र काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिता अवधिभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापामगर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् ।
विजेतालाई टोली र खेलाडीलाई सामाजिक विकास मन्त्रालय बागमती प्रदेशकी मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशकी सांसद् स्वरुपा भुजेल, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, सामाजिक विकास मन्त्रालय बागमतीका सचिव रामकृष्ण पुडासैनी, प्रदेश खेलकुद विकास परिषद् बागमतीका कार्यालय प्रमुख देवनारायण चौधरी लगायतले पुरस्कार वितरण गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend