जन आकाश
काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता लगायत विषय अन्त्य गर्न माग गरेको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबार उनको कार्यकक्षमा भेट गर्दै भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
सङ्घले आफ्नो परिचय पत्रवाहक कलाकारहरूलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरू प्रवेशमा सहजता दिन माग समेत गरेको छ ।
‘उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँगको भेटमा हामीले धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरेका छौँ । विशिष्ट चलचित्रकर्मीहरू लगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध समेत गरेका छौँ,’ कलाकार सङ्घका अध्यक्ष निरौलाले भने ।
भेटमा श्रेष्ठले मुलुकको सुशासन र विकासको लागि बाधक तत्त्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताएका थिए । उनले कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत बताएको अध्यक्ष निरौलाको धारणा थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend