logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विपनालाई ‘युग नायिका’, शंकर र योगेन्द्रलाई सर्वोत्कृष्ट संगीत निर्देशकको अवार्ड


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौ । बरिष्ठ अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपमाले सम्मान गरिएको छ । शनिबार राजधानीमा सम्पन्न तेस्रो ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का अवसरमा उनलाई उक्त सम्मान अर्पण गरिएको हो । पछिल्लो समय भारतको मथुरामा बस्दै आएकी अभिनेत्री थापा सोही सम्मान ग्रहण गर्न नेपाल आएकी हुन् ।



समारोहमा अघिल्लो वर्षका गीतसंगीत तथा म्युजिक भिडियोहरु मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ । जहाँ शंकर थापा ‘स्माइल’ले ‘देखिन तिमी जस्तो’ गीतबाट सर्वोत्कृष्ट संगीत निर्देशक (लोक–पप)को अवार्ड प्राप्त गरेका छन् । यस्तै ‘अन्धकार’ बोलको गीतबाट अर्का संगीतकार योगेन्द्र उपाध्यायले सर्वोत्कृष्ट संगीत निर्देशकको अवार्ड प्राप्त गरे । समारोहमा शैलेन्द्र खनालले ‘बीर’ बोलको गीतबाट सर्वोत्कृष्ट गीतकार, सुवानी मोत्तानले ‘समय’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका, संञ्जय किशोरले ‘धेरै भो’बोलको गीतबाट सर्वोत्कृष्ट गायक, बिना श्रेष्ठले ‘उनी बोल्दिनन् अचेल’बोलको गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (महिला) र ‘जुम्ला’ बोलको गीतको म्युजिक भिडियोले सर्वोत्कृष्ट भिडियोको अवार्ड प्राप्त गरे ।

कूल ५८ बिधामा प्रदान गरिएको अवार्डको निर्णायकमा चर्चित संगीतकार राजेन्द्र बजगाई, चर्चित मोडल सञ्चिता शाही, बरिष्ठ मेकअप आर्टिष्ट ऋतु रानालगायत रहेका थिए । विविध साँस्कृतिक कार्यक्रमहरु सहित भब्य रुपमा सम्पन्न अवार्ड समारोहमा सांगीतिक क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्ने शंकर र योगेन्द्र दुवै रेडियो नेपालको बर्गिकरणमा ‘ए’ ग्रेडका संगीतकार हुन् । नेपालमा सरकारी स्वामित्वको रेडियो नेपालले संगीतकर्मीहरुको बर्गिकरण गर्ने गर्छ । संगीतकार संघका बोर्ड सदस्य तथा राष्ट्रिय लोक साँस्कृतिक संघका मानार्थ सदस्य समेत रहेका चर्चित संगीतकार शंकर यतिबेला मेरो भ्वाइस कप युनिभर्सको कोच तथा म्युजिक टिचरका रुपमा समेत कार्यरत छन् । यस्तै योगेन्द्र भ्वाइस अफ नेपालमा टिम प्रमोदको कोच तथा म्युजिक टिचरका रुपमा आवद्ध छन् । योगेन्द्र राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव समेत हुन् ।

शंकरले यसअघि जिनियस म्युजिक अवार्ड, ओएस नेपाल म्यजिक अवार्ड, नीम अवार्ड, नेशनल रापती म्युजिक अवार्ड, कालिका एफएम म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, अमिन राष्ट्रिय म्युजिक अवार्ड लगायतका अवार्डहरुमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरिसकेका छन् । संगीतमै एम्युज गरेका योगेन्द्रले जिनियस म्युजिक अवार्ड, क्वालिटी म्युजिक अवार्ड, इमेज अवार्डलगायतका अवार्डहरुमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend