logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बन्यो


  • जन आकाश
  • बुधबार, जेष्ठ २४ २०८०

काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।



मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो । नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो ।

सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । २०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो ।

यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो । मंगलबारको खेलमा बराबरीपछि डबल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend