जन आकाश
जयराम बिडारी
काठमाडौं । भुँडीपुराण प्रकाशनका को आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमको आयोजना गरि साहित्यकार तथा संचारकर्मी गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित ‘’शब्दबिम्बमा सत्यमोहन’’ कृति सार्वजनिक गरिएको छ ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीमाथि विभिन्न समयमा फरक फरक व्यक्तिहरूद्वारा लेखिएको लेख–रचनाहरूको सँगालोको रुपमा रहेको उक्त कृतिको लोकार्पण कार्यक्रम शताब्दी निकट पुगिसकेका बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल को प्रमुख आतिथ्यता एवं भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुली को सभापतित्व तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, बरिष्ठ कथाकार माया ठकुरी , समालोचक साहित्यकार प्रा. डा. ज्ञानु पाण्डे साहित्यकार समालोचक प्रा. डा.लेखप्रसाद निरौला तथा शताब्दी पुरुष सत्यमोहन जोशीका सुपुत्र अणुराज जोशीको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथिका रुपमा शताब्दी उन्मुख बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालले सत्यमोहन जोशी द्वारा नेपाल भाषा एकेडेमी स्थापना गर्ने बेलाको प्रसंग उल्लेख गर्नुका साथै रेडियो सगरमाथामा आफूले संचालन गर्ने गरेको ‘’उहिलेको बाजेको पालामा’’ नामक कार्यक्रममा सत्यमोहन जोशी संग अपर्झट रुपमा लिनु परेको अनत्तर्वार्ताका सन्दर्भ स्मरण गर्दै सत्यमोहन जोशी अमृतघडा जस्तै रहेकोले उनका बारेमा अझ धेरै कृति तयार पार्न सकिने बिचार ब्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा समयले सत्यमोहनलाइ जन्मायो सत्यमोहनले समय बनाए भन्दै उक्त कार्यक्रममा कृतिका सम्पादक तथा संचारकर्मी गोपीकृष्ण ढुंगाना द्वारा कार्यक्रमको औचित्य र आवश्यकताका बारेमा प्रकाश पार्दै उपस्थितलाइ स्वागत गरिएको थियो । मन्तव्यका क्रममा समालोचक साहित्यकार प्रा डा. लेख प्रसाद निरौलाद्वारा भाषिक,सांस्कृतिक एवं लोकजीवनका पर्यायका रुपमा चिनिएका तथ दीर्घकालिक मानवीय जीवन बाँचेका सत्यमोहन जोशीको बारेमा लेखिएको कृतिले उनलाइ जीवन्त तुल्याउन यथेष्ट भूमिका निभाउने बिचार ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रा.डा.ज्ञानु पाण्डेले एकपटक प्रकाशित भइसकेका सामग्री लाइ संकलन र सम्पादन गरिकन गोपीकृष्ण ढुंगाना तथा प्रकाशन गृहले पुनः पुस्तकाकारका रुपमा ल्याइ दिएर सत्यमोहनका बारेमा शोध अनुसन्धान गर्न चाहनेहरुका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने बिचार ब्यक्त गरेकी छन् । साथै गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सवैलाइ उत्प्रेरित गर्ने पात्रका रुपमा परिचित सत्यमोहन जोशी जीवित संग्रहालय हुन् भन्दै सत्यमोहन जोशी अनुकरणीय ब्यक्तित्व रहेको बारे प्रकाश पारेका छन् । उक्त कार्यक्रममा सत्यमोहनका बारेमा जान्न बुझ्न चाहने हरुका लागि समाचार ,लेख रचना सम्पादकीय अन्तर्वार्ता फोटो तथा स्केच सहितको सन्दर्भ सामग्री रहेको ४२० पृष्ठको कृति ‘शब्दबिम्बमा सत्यमोहन’ रोचक रहेको बताइएको थियो ।
सरोज घिमिरे स्रष्टा द्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा सत्यमोहनका सुपुत्र अणुराज जोशीले चिन्तन गरेर चिनिएका आफ्ना पिताका बारेमा कृति प्रकाशित गरिदिनु भएकोम आभार ब्यक्त गरेका छन् ।अन्त्यमा सभाध्यक्ष तथा भुँडीपुराणका प्रमुख केशव पराजुली द्वारा कृति प्रकाशनका बारे प्रकाश पार्दै आफ्नो संस्थाले शताब्दी पुरुषका बारेमा कृति प्रकाशन गरि सम्मानित गर्न पाउँदा खुशी लागेको बिचार व्यक्त गर्दै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend