logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘काँडेतार’ फिल्म फागुन २५ बाट प्रदर्शनमा आउने


  • जन आकाश
  • आइतबार, असार ३ २०८०

काठमाडौँ । फिल्म ‘काँडेतार’ २५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएका हुन् ।



नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने बिषय समेटिएको फिल्मको सार्वजनिक पोस्टरमा उनी खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत भएका छन् । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देख्न सकिन्छ ।

केही अगाडि सेन्सरको लफडामा पनि परेको फिल्म सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोकिदिएपछि केही दृश्यमा काटछाट गर्दै सेन्सर पास भएको थियो । फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन् ।

फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्माता हुन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् ।

फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य समेत फिल्ममा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend