जन आकाश
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाएको छ । वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए ।
यस्तै दोस्रो विकेट गुल्सन झाले लिए। गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई ३२ रनमा बोल्ड गरे किङले ४२ बलमा २ चौका र २ छक्का हिर्काए। त्यतिबेला वेस्ट इन्डिजले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन जोडेको थियो ।
नेपाली टिम स् कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।
वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो । नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
नेपालको प्रशिक्षक नियुक्त हुनुअघि मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिज टिमको बारेमा देसाई जानकार हुनु नेपाली टिमका लागि योजना बनाउन फाइदाजनक हुन सक्छ । १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend