जन आकाश
काठमाडौँ — वेस्ट इन्डिजसँगको खेल बिहीबार नेपाली क्रिकेटका लागि सबैभन्दा बहुप्रतीक्षित थियो, त्यसमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा ठूलो हार बेहोरेको छ । वेस्ट इन्डिजले विश्वकप छनोटमा बिहीबार नेपाललाई १ सय १ रनको हार चखायो ।
नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा ३ अंकको रन अन्तरको हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएपछि वेस्ट इन्डिजले ७ विकेट गुमाई ३ सय ३९ रन बनाएपछि नै नेपाललाई लक्ष्य भारी परिसकेको थियो । हरारे स्पोर्ट्स क्लबमा ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भएपछि नेपालले रनको हिसाबमा एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा ठूलो हार बेहारेको हो ।
वेस्ट इन्डिजको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो । यद्यपि शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेमा नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेदरल्यान्ड्सले बिहीबार नै भएको अर्को खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरी अंकतालिकामा नेट रनरेटको आधारमा नेपाललाई उछिनेको छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भयो । त्यसपछि अमेरिकामाथि नेपालले ६ विकेटको विजय पाएको थियो । लगातार तेस्रो हारपछि अमेरिका विश्वकप छनोटको समूह चरणबाटै बाहिरिने पहिलो राष्ट्र बनेको छ ।
वेस्ट इन्डिजको तीव्र बलिङसामु नेपाल सुरुआतदेखि नै दबिएर खेलेको थियो । कुशल भुर्तेललाई ५ रनमै अल्जारी जोसेफबाट बोल्ड भए । भीम सार्की स्कुप हान्ने चक्करमा २ रनमा छँदै जेसन होल्डरको बलमा आउट भए । ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बलमा ३ चौका प्रहार गरे । कुशल मल्ल २ रनमै आउट भए ।
दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुलशन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै नेपाललाई २ सय रनको नजिक पुर्याएका थिए । गुलशनले ५८ बल खेलेर ५ चौका र १ छक्कासहित ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।
आसिफले ६३ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको छैटौं अर्धशतक हो । उनले ९३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेल्दै ४ चौका र १ छक्कासहित २८ रन जोडेका थिए । ललित राजवंशी १ बल खेले, रनविहीन अविजित रहे ।
वेस्ट इन्डिजका लागि होल्डरले ३ विकेट लिए । उनले १० ओभरमा ३४ रनमात्र खर्चे । जोसेफले १० ओभरमा ४५, अकिल होसेनले १० ओभरमा १ मेडन राख्दै ४९ र किमो पाउलले १० ओभरमा १ मेडन राख्दै ६३ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय ३९ रन बनाएको थियो । कप्तान साई होप र निकोलस पुरनले सानदार शतक बनाएपछि वेस्ट इन्डिजले विशाल स्कोर बनाएको थियो । यी दुईले चौथो विकेटमा २ सय १६ रनको साझेदारी गरेका थिए ।
पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा पुरनको यो दोस्रो र होपको १६ औं शतक हो । ९४ बल खेलेका पुरनले १० चौका र ४ छक्का प्रहार गरे । उनले ३ र ५३ रनमा जीवनदान पाएका थिए । दुवै पटक आसिफले उनको क्याच फुत्काउन पुगेका थिए । दीपेन्द्रले आफ्नै बलमा सानदार क्याच लिई पुरनलाई आउट गरेपछि बलियो साझेदारी तोडिएको थियो ।
होपले १ सय २९ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे । रोभमन पावेल १४ बलमा २९ र किमो पाउल १ रनमा आउट भए । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहे । यसअघि नेपालले बलिङमा सानदार सुरुआत गरेको थियो । करणले नेपालको दोस्रो तथा आफ्नो पहिलो ओभरमै केयल मेयर्सलाई कुशलको हातबाट सानदार क्याच गराएका थिए । पाँचौं ओभरमा जोन्सन चार्ल्सलाई गुलशनले शून्यमा आउट गरेका थिए ।
ब्रेन्डन किङलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इन्डिज १६ औं ओभरमा ५५–३ को स्थितिमा पुगेको थियो । नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुलशन, सन्दीप र दीपेन्द्रको नाममा १–१ विकेट रह्यो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend