जन आकाश
काठमाडौं । फिल्ममा सर्वाधिक रुचाइएको जोडी हो, दयाहाङ राई र बुद्दि तामाङ । फिल्म ‘कबड्डी’ सिरिजमा केमेस्ट्री रुचाइएपछि उनीहरुले निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । प्रायः फिल्ममा दयाहाङको ‘ब्याक बोन’को रुपमा बुद्दि प्रस्तुत हुने गरेका छन् । अब यो जोडी फिल्म ‘कार्साङ’मा पनि एकसाथ देखिने भएको छ । दयाहाङपछि बिहीबार बुद्दि फिल्ममा अनुबन्धित भएका छन् ।
यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन् । तिहारपछि विभिन्न चरणमा छायांकन हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । फिल्ममा उनी निर्माताका रुपमा पनि छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुने बताइएको छ । फिल्म एउटा समुदायको कथामा बन्न लागेको हो ।
सामाजिक कथामा निर्माण हुने फिल्मका लागि बाँकी कलाकार अडिसनबाट छनोट गरिने निर्देशक शेर्पाले बताएका छन् । फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिज राइटसको माग बढिरहेको उनको भनाई छ । फिल्ममा निर्देशक शेर्पा स्वयंको लेखन छ । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यसअघि उनले केही सर्ट फिल्मको भने निर्देशन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend