logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साउन १ गतेवाट रामेछाप जिल्लावाट चल्ने सवारीमा भाडा घटाउने


  • जन आकाश
  • सोमबार, साउन १ २०८०

रामेछाप । रामेछाप जिल्लाबाट काठमाडौं चल्न सवारी साधनले सरकारले तोकेभन्दा बढी लिँदै आएको भाडा साउन १ गतेबाट लिन नपाउने भएका छन् ।



आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौं–मन्थली चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर प्रदेश सरकारले तोके बमोजिम मात्र लिन यातायात व्यवसायीलाई निर्देशन दिने निर्णय गरेको छ । डिलक्सको लागि थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था कार्यान्वयन गर्दा डिलक्सको लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना भएको हुनु पर्ने बैठकको निर्णय छ ।

मन्थलीबाट काठमाडौं चल्ने सवारी साधनलाई प्रदेश सरकारले ५ सय ७९ रुपैँया भाडा दर तोकेको छ । डिलक्स सुविधा भएका गाडीले थप २० प्रतिशत शुल्क लिन पाउँदा बढीमा ७ सय १५ रुपैँयासम्म भाडा लिन पाउँछन् । तर रामेछापबाट काठमाडौँ चल्ने सुमो, सामान्य सिट भएका माइक्रो बस तथा बसहरूले समेत ७ सय रुपैँया भाडा लिँदै आएका छन् ।

सरोकारवाला सबैलाई राखेर गरिएको बैठकको निर्णय कार्यान्वयनमा आउनु पर्ने प्रमुख जिल्ला अधिकारी निरौला बताउनुहुन्छ । ‘कारबाहीमा जानु पर्ने स्थिति नआओस्, सरोकारवालाले निर्णय कार्यान्वयन गरुन्’, उहाँले भन्नुभयो ।

बैठकले रामेछाप जिल्ला भित्र चल्ने सवारी साधनको पनि वैज्ञानिक भाडा निर्धारण गरेको छ यात्रु बाहक सवारी साधनहरूको भाडा दर उप समितिबाट पेश भएको प्रतिवेदन समेतलाई छलफल गरी भाडा दर निर्धारण भएको हो । जिल्लामा चल्ने सवारी साधनलाई हाल प्रदेश सरकारले तोको भाडा दर बाहेकका पक्की सडकमा प्रतिकिलोमिटर आठ रुपैँया र कच्चीमा ११।५ रुपैँया भाडा दर तोकिएको छ ।

जिल्ला भित्र चल्ने तिन पाङ्ग्रे यात्रु वाहक सवारी साधन अटोको हकमा जिल्ला सदरमुकाम भित्रका विभिन्न चोकमा निश्चित भाडा दर तोकिएको छ भने भाडा दर कायम भएका स्थान भन्दा बाहेकका स्थानमा पक्की सडकमा मात्र जान पाउने र प्रति किलोमिटर १७ रुपैँया भाडा दर तोकिएको छ ।

काठमाडौं लगायतका स्थानबाट मन्थलीसम्म चल्ने विद्युतीय यात्रुवाहक सवारी साधनको भाडा दर समेत पुनरावलोकन गरी यकिन गर्न प्रदेश सरकारको सम्बन्धित निकायमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

सवारी साधनमा ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूले नियमानुसार पाउने भाडा छुटको व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ । सवारी साधनका चालक तथा सहचालक र यात्रुहरूबिचको सम्बन्धलाई सुमधुर बनाउन अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जिल्ला भित्र भाडा दर निर्धारण समितिबाट निर्धारण भएको भाडादारको विवरण यात्रुहरूले देख्ने गरी सार्वजनिक स्थान टाँस गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले मन्थली बजारको मूल सडकमा पार्किङ गर्दै आएको मोटरसाइकल साउन १ गतेबाट पार्किङ गर्न नपाइने भएको छ । त्यसका लागि हाललाई विभिन्न शाखा सडक तोकिएको छ । बजार क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनले पनि पार्किङ गर्न नपाउने भएका छन् । उनीहरूलाई तत्कालको लागि जिल्ला समन्वय समितिको पछाडी को मन्थली नगरपालिका वडा नम्बर ०१ को कार्यालय छेउमा राख्न सकिने र कृषि ज्ञान केन्द्र मुनिको सडकमा एकतर्फी पार्किङको व्यवस्था मिलाइने भएको छ ।

हाल मन्थलीबाट विभिन्न स्थानमा सञ्चालन भई रहेका यात्रुवाहक सवारी साधनको छुट्ने समयका सम्बन्धमा विभिन्न व्यक्ति तथा यात्रुबाट गुनासो आएको हुँदा सबै यात्रुहरूलाई सहज हुने गरी हालको समयमा हेरफेर गर्न सम्बन्धित यातायात व्यवसायीलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend