जन आकाश
काठमाडौँ । नेपाली राजनीति तथा साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा विद्युतकर्मी साहित्य समाजद्वारा शनिबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा आयोजित विशेष काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सर्जकहरूले रचना वाचन गर्नुका साथै बीपीको बहुआयामी व्यक्तित्वमाथि परिचर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कवि त्रिभुवनचन्द्र वाग्लेले बीपीलाई पञ्चायती सत्ताले राजनीतिमा नामेट गर्न खोज्यो तर उहाँ समाजवादको लक्ष्यलाई नेपाली राजनीतिमा प्रविष्ट गराएर अमर हुनुभयो, यस्तै, साहित्यमा उहाँलाई अस्वीकार गर्ने प्रयत्न गरियो तर नारी मनोविज्ञान, यौनमोविज्ञान, समाज चित्रण र प्रतिरोधात्मक वैकल्प्य लेखनलाई नेपाली साहित्यमा स्थापित गर्ने अग्रज हुनुभयो भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व सांसद गोविन्द शर्मा कँडेल (बाग्लुङ)ले आज बीपीका विचार आत्मवोध गर्ने दिन हो भन्दै बीपी विचारको सान्दर्भिकता वर्तमान राजनीतिमा अझ अकाट्य भएको विचार व्यक्त गर्नुभयो ।
बीपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक परशुराम पोखरेलले इतिहास नामेट गराउनेहरूको हातबाट जेललाई सङ्ग्रहालय बनाएर नागरिकको सम्पत्ति बनाउन पाएकामा सन्तोष गर्दै तर अपेक्षाकृत काम गर्न नसकिएको बताउनु भयो । उहाँले जन्मेको वा निधन भएको दिनदेखि नै उत्सव वा स्मृति गरिने भएकाले यसपटक बीपीको ४१ औं नभएर ४२ औं स्मृति दिवस हुनुपर्ने वहस प्रवेश गराउनु भएको छ ।
विद्युतकर्मी साहित्य समाजका अध्यक्ष कवि कृष्णदेव रिमालले बीपीको स्मरण र उहाँको योगदाको सम्मान गर्न काव्य गोष्ठी तथा रचना वाचन कार्यक्रम आयोजना गरिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविहरू शारदादेवी पोखरेल, विष्णुप्रसाद आचार्य, मुकुन्दप्रसाद प्रसाईं, सङ्गीता अधिकारी, आविश्कार कला, रिता खनाल, बलराम पुडासैनी, यादवराज घले नरबहादुर श्रेष्ठ, विष्णु थापा बिछोड, नरबहादुर श्रेष्ठलगायतले कविता, मुक्तक तथा गीत वाचन गर्नुभएको थियो ।
कार्यक्रम बीपीले सुन्दरीजल जेलमा रहँदा अधिकांश समय बसेर लेख्नुभएको करिब १५० वर्ष पुरानो कपुरको रुखमुनि गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend