जन आकाश
काठमाडौं । अमेरिकी क्लब इन्टर मायामीमा अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।
पहिलो खेलमा फिक्रिकमार्फत् उत्कृष्ट गोल गर्दै मायामीलाई जिताएका मेसीले एटलान्टा युनाइटेडविरुद्ध बुधबार भएको लिग्स कपको खेलमा दुई गोल गरे। खेलमा मायामी ४-० गोलले विजयी हुँदै नकआउट चरणमा पुग्यो ।
समूह ‘जे’ को खेलमा मेसीले खेलको आठौं र २२औं मिनेटमा गोल गर्दै मायामीलाई सुरुवाती अग्रता दिलाए । मेसीले पहिलो गोल रिबाउन्डमा गरे । त्यसअघि उनले सर्जियो बुस्केटको पासमा हानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। दोस्रो गोल गर्न मेसीले टेलरको क्रसलाई सदुपयोग गरे ।
मायामीका लागि थप दुई गोल रोबर्ट टेलरले खेलको ४४ र ५३ मिनेटमा गरेका थिए । टेलरलाई दोस्रो गोल गर्न मेसीले पास दिएका थिए । खेलको ८४ मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाउदा मायामी १० खेलाडीमा सीमित बन्न परेको थियो । क्रिस्टोफरले डिबक्समा फल गरेपछि दिइएको पेनाल्टीमा एटलान्टा सफल भएन । थियागोको प्रहार मायामीको गोलकिपरले विफल पारे ।
समूहमा २ खेलबाट ६ अंक जोडेको मायामी अन्तिम ३२ मा पुगेको छ । अमेरिकाको मेजर सकर लिगअघि लिग्स कप भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend