logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्मयोगी बद्रीविक्रम थापाको १०१औं स्मृति दिवस तथा ‘’राष्ट्र गौरव पुरस्कार समर्पण’’ सम्पन्न


  • जन आकाश
  • शनिबार, साउन १३ २०८०

जयराम बिडारी



काठमाडौ ।‘’बोलेको कुरा गरेर देखाउन थालेपछि थोरै बोल्न करै लाग्छ’’ भन्ने मूल मन्त्र अंगिकार गरिएको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा थापाको १०१औं जन्म स्मृति सभा तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार समर्पण समारोह सम्पन्न गरिएको छ ।

राष्ट्रीय सभागृहमा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष तथा काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माको अध्यक्षता तथा त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाको प्रमुख आतिथ्यता एवं बिशिष्ट अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मंत्री सरत् सिंह भण्डारी, पूर्व उपप्रधान तथा गृहमंत्री कमल थापा तथा पूर्व मंत्री शशी श्रेष्ठ लगायत नेपाल सरकारका पूर्व सचिव भरत बहादुर थापा एवं नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपाल प्रसाद पोखरेल आयोजक सदस्य अरुण विक्रम थापा लगायत गुठीका सल्लाहकार हरुको आतिथ्यता लगायत हजारौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाद्वारा नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपाल प्रसाद पोखरेललाई दुई लाख बाईस हजार दुई सय बाईस नगद राशी सहित प्रमाण पत्र द्वारा ‘सेवा पुरस्कार २०८० ‘ ले सम्मानित गरिएको थियो । साथै बिशिष्ट अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मंत्री सरत् सिंह भण्डारीद्वारा ‘बद्रीविक्रम राष्ट्रीयगौरव’ पुरस्कारबाट पूर्व सचिव भरत बहादुर थापालाई दुई लाख बाईस हजार दुई सय बाईस नगद राशि सहित प्रमाण पत्र द्वारा सम्मानित गरिएको थियो भने ‘बन्दना तथा बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कारबाट हिन्दुबिद्यापीठ-नेपाल, थली कि छात्रा प्रतिमा सापकोटालाई डा.लोकविक्रम थापाद्वारा दश हजार नगद राशि सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

यसैक्रममा गुठीले नियमित रुपमा प्रदान गर्दै आएको आर्थिक सहयोग यसपटक श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक बिद्यालय पुल्चोक-३ ललितपुरका प्राधानाध्यापक परशुराम बराल तथा श्रीकृष्ण प्रणामी निजानन्द बृद्धाश्रम पुल्चोक ललितपुरका प्रतिनिधी विवेक बन्जारालाई प्रदान गरिएको थियो । साथै बद्रीविक्रम थापा श्रम सम्मान पुरस्कारबाट तपाहिटी पाटनका कुलरत्न खड्गी र न्हेछुमाया शाहीलाई जनही पच्चिस हजार नगद राशि सहित प्रमाण पत्रद्वारा समामानित गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित जनमानसलाई चिन्तामणि योगीद्वारा स्वागत मन्तव्य राखिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्व नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेल द्वारा विराट् व्यक्तित्व कर्मयोगी बद्रीविक्रम थापा स्मृति कोषको गरिमामय पुरस्कारबाट आफू लगायत नेपाल आँखा अस्पताल समेत सम्मानित हुन पाउँदाको क्षण सम्झदा भावविभोर हुदै त्यस्ता यशस्वी ब्यक्तित्वको नामबाट आफूले नेतृत्व गरेको संस्था सम्मानित र पुरस्कृत हुन पाएकोमा आफूले देश र समाजको लागि थोरै भएपनि योगदान गरेको रहेछु भन्ने बोध भएको र पुरस्कार राशि बाट प्राप्त रकमले आगामी दिनमा संस्थाकै उन्नयनका लागि ब्यवस्थित गरिने बिचार ब्यक्त गरेका छन् ।

यसैक्रममा अर्का सम्मानित ब्यक्तित्व नेपाल सरकारका पूर्व सचिव भरत बहादुर थापाद्वारा नेपालको प्रशासनिक एवं समाजसेवा क्षेत्रका विलक्षण ब्यक्तित्व कर्मयोगी बद्रीविक्रम थापाका बारेमा प्रकाश पार्दै प्राप्त पुरस्कारले आफूलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै बद्रीविक्रम थापाको १०१औं जन्मजयन्तीका अवसर पारेर आफूलाई ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८०’ बाट सम्मानित गरिएकोमा हार्दिक आभार ब्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमंत्री कमल थापाद्वारा ‘कर्मयोगी बद्रीविक्रम थापा’ जस्तो निश्पक्ष र पारदर्शी प्रशासन संचालक एवं सादा जीवन उच्च विचारका संबाहकको स्मृति दिवसमा सहभागीता जनाउन पाउंदा गौरवान्वित महसूस हुने बताउंदै उनको योगदानका बारेमा चर्चा गरेका छन् । यसैक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री सरत् सिंह भण्डारीद्वारा सानै उमेरमा राणाशासनबाट देशलाई मुक्ति दिलाउन बिशेष भूमिका निभाउने बद्रीविक्रम थापाको योगदानको बारेमा चर्चा गर्दै गुठीले सामाजिक सेवा तथा विविध क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका छन् ।

प्रमुख अतिथिको भूमिकामा रहेका त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाले सामाजिक क्षेत्रका बिराट ब्यक्तित्वहरुलाई आफ्नो हातले सम्मानित गर्न पाउनु गौरवको बिषय भएको बताउंदै राष्ट्रीय भावनालाई जनमनमा कसरी बृद्धि गर्दै लैजान सकिन्छ भन्ने बिषयमा कर्मयोगी बद्रीविक्रम थापाको अनुकरणीय जीवनशैली निष्काम समाजसेवाका बारेमा बिमर्श गरेका थिए ।

उक्त कार्यक्रममा ‘सेवा नेपाल’ सत्यमोहन जोशी स्मृति अंक २०८० लोकार्पण समेत गरिएको थियो । राजेश खनालद्वारा आकर्षक रुपमा संचालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend