logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

जापानको तीन सहरमा कन्सर्ट गर्दै नेपथ्य


  • जन आकाश
  • सोमबार, साउन १५ २०८०

काठमाडौं । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।



नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ । त्यसैगरि ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैँमा नेपथ्यका लागि कोशेढुँगा थियो ।

‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसंग जोडिएका मिठा यादहरुमध्ये केही बर्ष अघि टोक्यो डोममा हामीले पाएको भब्य माया को अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ ।’

आफुहरु जुनसुकै परिस्थिती र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दैआएको अमृत सुनाउँछन् ।

लामो समयदेखि नेपाली तन्नेरीहरुका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तब्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ । यसरी आफुसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरुले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरुलाई मनपराउँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend