logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नागार्जुन साहित्यिक प्रतिष्ठानको गोष्ठी सप्पन्न


  • जन आकाश
  • आइतबार, साउन २१ २०८०

काठमाडौ । नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार आयोजना हुने सुप्रभात काव्य गोष्ठी यही साउन २० गते शनिवार सुसम्पन्न भएको छ।



प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त रचना वाचन तथा समीक्षात्मक टिप्पणी कार्यक्रमको प्रमुख अतिथि थिए- चर्चित समालोचक तथा सर्जक डा• यज्ञेश्वर निरौला ।

सो कार्यक्रममा दिल पौडेलले ‘मेयर सा’ब’, प्रकाश सिलवालले ‘घाम र झरीको सङ्घर्ष यात्रा’, माधव घिमिरे ‘अटल’ले ‘देहाती दुःख’ तथा गङ्गाप्रसाद भेटवालले ‘बबुरा कविहरूशक्तिशाली बन्नु परेको छ’ शीर्षकीय रचना वाचन गरेका थिए ।

त्यसैगरी सुशीला शर्माले ‘पीडा’, सुष्मा देवकोटाले ‘झरी नपरे’ शीर्षकीय गजल, रामदेव पाण्डेले ‘सहिद’ शीर्षकको रम्बास, वैरागी जेठाले ‘ फूलको प्रदेशमा’, प्राज्ञ चेतनाथ धमलाले ‘धमिरा’, सुनिल पुरीले ‘काँस जस्तो गाउँ’, लक्ष्मणदेव पाण्डेले ‘चरी थरीथरीका’ शीर्षकीय सिर्जना सुनाएका थिए ।

त्यसरी नै शान्तिनाथ योगीले जुम्लेली देउडा गायन गरेका थिए । उता समकालीन साहित्यिक क्षेत्रका उम्दा साहित्यकार राजेन्द्रमान डङ्गोलले आफ्नो प्रकाशोन्मुख कृति ‘बादलडाँडा’मा समेटिएको विकट गोरखाकोआफ्नो एउटा यात्रा अनुभूतिबारे सङ्क्षिप्त चर्चा गर्दै छिमेकीले कसरी हाम्रा सीमारेखामाथि आँखा गाडेका छन् भन्ने अवगत गराएका थिए ।

झन्डै एक दर्जनको सङ्ख्यामा उपस्थित कविहरूद्वारा
वाचित रचनामाथि डा• यज्ञेश्वर निरौलाले सिर्जनामाथि समसामयिक, शालीन एवम् सटीक टिप्पणी गरेका थिए । निरौलाले आजकल लघुतम विधाका थुप्रै उपविधाहरू रहेको र तिनमा शब्द चयन र अर्थ गाम्भीर्यको जरूरत रहेको बताए । बग्दै बग्दै गएर सारसङ्क्षेपमा प्रस्तुत गरिने रचना नै कविता भएको उनले जिकिर गरे । राजनीतिले जतिसुकै बेवास्ता र उपेक्षा गरे पनि विचार र सन्देशले समाज रूपान्तरणमा कविहरू दृढतापूर्वक लाग्नुपर्ने उनको स्पष्टोक्ति थियो ।

अन्तमा आगामी कार्यक्रम भाद्र १६ गते, शनिवार बिहान ८:०० बजे सोही स्थलमा आयोजना हुने सविनय अवगत गराउँदै अध्यक्ष दिल पौडेलको अनुमतिले सचिव माधव घिमिरे ‘अटल’ले कार्यक्रमको बिट मारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend