logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौं साहित्य महोत्सबको दोस्रो संस्करण सुरु हुँदै


  • जन आकाश
  • आइतबार, भाद्र ३ २०८०

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणको घोषणा भएको छ । गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।



नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ । महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ ।

महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती जस्ता दिग्गजहरू सहभागी हुनेछन् । यस्तै, प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका छन् । बलिउड सिनेमाकी अभिनेत्री मनिषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्ने छिन् । मनिषाका साथमा नेपालबाट सुरक्षा पन्त लगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुँदैछन् ।

त्यसैगरी, भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुनेछन् । नयनराज पाण्डे, अमर न्यौपाने, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशिनाथ तमोट, चरीमाया तामाङ, शिवानी थापा, सीके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनिषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, सृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, हर्क साउद लगायतले विभिन्न सत्रमा वक्ताका रूपमा सभागिता जनाउने छन् । लघु कथावाचन र कलिङ महलफिलुजस्ता सत्रहरू पनि महोत्सवका रमाइला कार्यक्रम हुन् ।

‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ।

यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरू गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend