जन आकाश
काठमाडौं । झरना थापा निर्देशित फिल्म एक भगवत् गीताको नाम परिवर्तन गरिने भएको छ । अब फिल्मको एक भागवत र एक गीता सामाजिक कथा रहनेछ । फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाहरूले चलचित्र विकास बोर्डमा उजुरी हालेका थिए ।
हिन्दु जागरण नेपाल, आध्यात्मिक विकास समाज र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले अन्तरजातीय प्रेम कथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको भन्दै आपत्ती जनाएका थिए ।
बोर्डमा आइतबार बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, फिल्मका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र धार्मिक संगठनका प्रतिनिधिहरूबीच छलफल भएपछि फिल्मको नाम परिवर्तन गर्ने सहमति भएको हो ।
फिल्मको नामलाई लिएर विवाद आएपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो । फिल्मका निर्माता सुनिल कुमार थापाले विवाद टुंगिएसँगै सेन्सरको प्रक्रिया अगाडि बढेको बताए । हाम्रो फिल्ममा धार्मिक भावनामा चोट पुग्ने खाल्को केही छैन । तर पनि फिल्मको नाम परिवर्तन गर्न लगाइयो । फिल्मको प्रदर्शन मिति नजिकिएको हुँदा बाध्यताले यस निर्णयलाई मान्नुपर्यो,उनले भने ।
सुनिल कुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, राम कैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्री लगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend