logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी


  • जन आकाश
  • सोमबार, असोज १५ २०८०

काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिमले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित निकालेको छ ।



आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो । माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले ६ विकेट लिए । घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।

माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । कुशल मल्ले २० बलमा तीन चौका र दुई छक्कासहित अविजित ४७ रन जोडे ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान ३५ रन थपे । विनोद भण्डारीले १३ रन बनाए । माल्दिभ्सका नजवान इस्माइलले तीन विकेट लिए । नासिर नैल इस्माइल, मोहम्मन मिउभान र थोलाल मोहम्मद रायाले समान एक विकेट लिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend