logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आजदेखि छैठौँ संस्करणको बेलबारी गोल्डकप सुरु


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

काठमाडौं । पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ ।



भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा मोफसलमा गोल्डकपका लागि तयारी पूरा भएको आयोजक डाँगिहाट फुटबल क्लबले जनाएको छ । बेलबारी–११ लक्ष्मी मार्गस्थित लक्ष्मी मावि खेलमैदानमा सुरु हुने प्रतियोगिता कात्तिक ४ गते समापन हुने क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए ।

दैनिक ६ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा चार हजार क्षमता भएको बाँसको प्याराफिट, रङ्गरोगन, खेलमैदान मिलाउने, पोष्टर टाँस्नेलगायत सम्पूर्ण काम सम्पन्न भएको छ । खेलको सुरुमा रु ५० रुपैयाको टिकट र सेमिफाइनलदेखि एक सय र दुई सयको टिकटको व्यवस्था रहेको खेल संयोजक भाइकुमार गरुङ बताउँछन् ।

बेलबारी नगरको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको गोल्डकपमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौँ, बिग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टोली सहभागी हुने भएका छन् ।

प्रतियोगितामा विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाखसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ६२ लाख ९० हजार खर्च लाग्ने र रु ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend