जन आकाश
मुम्बई । यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर (३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाई गरेको छ । फिल्मको सफलताको बारेमा कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको बताए ।
टाइगर फ्रेन्चाइजी २०१२ मा एक था टाइगरबाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए । उनीसँगै जोयाको भूमिकामा रहेको कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए ।
यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अहिले ‘टाइगर ३’ रिलिज भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले मलाई र मेरो टाइगरको फ्रेन्चाइजीलाई दिएको मायाका लागि म आभारी छु । मैले अहिलेसम्म तीन पटक टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो ।’
यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको उनले बताए । यो चरित्रमा आउन धेरै त्याग गरेकाले यसको सफलता विशेष रहेको उनको भनाई छ । खानले एक्सन हिरो हुन पाउँदा निकै गर्व लागेको पनि बताएका छन् । उनले दबंग, वान्टेड, बडीगार्ड, किक, राधे र किसी का भाई किसकी जान जस्ता एक्सन फिल्म बनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend