logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: एपीएफले ९० रनले हरायो लुम्बिनी प्रदेशलाई


  • जन आकाश
  • आइतबार, पुष ८ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ९० रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार तेस्रो जित हो ।



तीन खेल खेलेको लुम्बिनी प्रदेशले भोगेको यो दोस्रो हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्यो ।

लुम्बिनी प्रदेशका लागि ओपनर लक्ष्मी चौधरीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । लक्ष्मीले २८ रन बनाइन् । उनले ४९ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । आसमा पुलामी मगर चार र कप्तान सरस्वती जीएम नौ रनमा आउट भए । सरस्वती पुनले एक रन बनाइन् भने चमेली चौधरीले खातासम्म खोल्न सकिनन् । सुस्मिता बजगाईले टोलीको खातामा आठ रन थपिन् ।

कमला जीम र मधु डीसी शून्य रनमै पेभेलियन फर्किए । कृतिका मरासिनीले चार रन जोडिन् । सर्मिला रोक्का शून्य र मनिषा राना एक रनमा अविजित रहिन् । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो । एपीएफ क्लबकी बलर इन्दू बर्माले तीन विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । बिनु बुढाले दुई विकेट हात पारिन् । रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले पनि एक–एक विकेट लिए ।

त्यसअघि काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबका लागि ओपनर ममता चौधरीले अर्धसतकीय योगदान गरिन् । ममताले ५९ रन बनाइन् । उनले ५८ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याट्र इन्दू बर्माले अविजित ७० रनको योगदान गरिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend