logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित


  • जन आकाश
  • सोमबार, पुष ९ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले हराएको छ । जारी प्रतियोगितामा चार खेल खेलेको मधेश प्रदेशको यो पहिलो जित हो ।



मधेश प्रदेशले यसअघि लगातार तीन खेलम हार भागेको थियो । चार खेल खेलेको गण्डकी प्रदेशको यो तेस्रो हार हो । एक खेलमा भने गण्डकी प्रदेश विजयी भएको थियो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १९.४ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि माथिल्लो क्रमका कुनै पनि ब्याट्सरले दोहोरो अंकमा रन बनाउन सकेनन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी सुमन खतिवडाले ४२ रन बनाइन् । उनले ३३ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर सृष्टी जैसीले टोलीको खातामा १५ रन थपिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् । गण्डकी प्रदेशका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दुबै ओपनर अञ्जली विश्वकर्मा र सृजना पौडेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो । मधेश प्रदेशकी बलर पूजा महतोले तीन विकेट लिइन् । उनले ३.४ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिइन् । सरस्वती कुमारी, कविता गौतम र साक्षी यादवले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशका लागि ओपनर पूजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सरस्वती कुमारीले पनि टोलीका लागि अविजित २६ रनको योगदान गरिन् । उनले २१ बलमा तीन चौका प्रहार गरिन् । यसका अतिरिक्त मधेश प्रदेशका लागि प्रतिमा शाहले मात्र दोहोरो अंकमा रन बटुल्न सकिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend