जन आकाश
काठमाडौँ । काठमाडौँको कालिका स्थानस्थित सर्वनाम थिएटरमा नाटक कुमारजी आज्ञा गर्नुहुन्छु मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् ।
ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ ।
मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ । अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।
नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार (रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् ।
‘गोमा कहाँ छिन् रु’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend