logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सलिनमान बनियाँ फिल्मसँग टाढिँदै


  • जन आकाश
  • शनिबार, पुष १४ २०८०

फिल्मसँग टाढिनु कलाकारहरुको आ–आफ्नै कथा हुन्छन् । कसैलाई व्यक्तिगत जीवनले फिल्मबाट टाढा राख्छ र कोही फिल्मको श्रृंखलाबद्ध असफलताले किनारा लाग्छन् । तर, फिल्ममा राम्रो करिअर हुँदाहुँदै त्यसबाट टाढिएर गुमनाम हुने इच्छा कसलाई हुन्छ होला र ? यदि त्यो भए पनि कि स्वइच्छा कि बाध्यताले हुन्छ । अभिनेता सलिनमान बनियाँको हकमा भने स्वइच्छा बढी देखिन्छ ।



अग्लो कद, कोरियन लुक्स, ‘यूनिक’ हेयर स्टाइल र स्टाइलिस ड्रेसअपले पहिलो फिल्म ‘ए मेरो हजुर २’बाटै सलिन ‘स्टार’को रुपमा उदाएका थिए । अभिनयलाई लिएर उनको आलोचना नभएको होइन । तर, उनको पृथक आवरणले चल्तीका चकलेटी हिरोहरुको भीडमा अलग पहिचान बन्यो । युवापुस्तामा उनको उल्लेख्य क्रेज देखियो । मेकरहरु पनि सलिनमानलाई फिल्ममा लिन झुम्मिए ।

‘ए मेरो हजुर २’पछि आएका धेरै अफरलाई लत्याएर उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ छनोट गरे । सम्भवतः यो फिल्म व्यावसायिक रुपमा सफल भैदिएको हुन्थ्यो भने फिल्ममा उनको यात्रा नरोकिन सक्थ्यो । तर, ‘यात्रा’को असफलतापछि उनले फिल्मबाट दूरी बनाएका छन् । उनलाई फिल्म अफरको अहिले पनि खासै कमी छैन । तर, उनी आफैंले फिल्म गर्ने इच्छा नदेखाएको पाइन्छ ।

फिल्मबाट टाढिँदै गएका सलिन यतिबेला व्यवसायमा जमिरहेका छन् । दशैंअघि उनले बसन्तपुरमा कोरियन रेस्टुरेन्ट खोलेका छन् । त्यसो त उनको पारिवारिक पृष्ठभूमि नै व्यापारिक हो । यसैले उनी पनि ‘विजनेशम्यान’ बन्ने प्रयासमा छन् । व्यवसायलाई काँध थाप्दै गर्दा फिल्मसँग भने उनको दूरी बढेको छ । यो दूरी बढ्दै गए कुनै दिन सलिन नेपाली फिल्मका गुमनाम नायक नबन्लान् सकिन्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend