जन आकाश
यतिवेला देशैभरीका पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड भईरहेकाछन् । नेपालमा पनि खेलकुदको विकासद्धारा खेलकुद पर्यटन भित्र्याएर नेपालको अर्थतन्त्रमा टेवा दिन सकिने सम्भावनाहरु रहेकाछन् । नेपालका कतिपय हिमाली र पाहाडी जिल्लाहरुमा हिमाल देखिने क्षेत्रमा रंगाशाल निर्माण गरेर खेलकुदको विकास गर्ने हो भने खेलकुदको माध्यमवाट पनि नेपाललाई विकास गर्नसक्ने आधार देखिन्छ ।
यस्तो अवस्था निर्माण गर्न नेपालले पनि राम्रा खेलाडी उत्पादन गरेर अन्तराष्ट्रिय पदक जित्न सक्ने खेलाडी उत्पादन गर्न सक्नुपर्छ । त्यो अवस्थासम्म पु¥याउनलाई स्थानीय रुपमा उमेर समूहका खेलाडीहरुलाई दिर्धकालीन योजना बनाएर गर्नुपर्ने कामहरु सवै गर्न सक्नुपर्छ तव मात्र अब्बल खेलाडी उत्पादन गर्न सकिन्छ ।
नेपालमा खेलकुदको क्षेत्रमा सधै राजनीतिक नियुक्त र विवादले ग्रस्त हुने गरेको थियो । त्यो अहिलेका खेलकुद क्षेत्रका सदस्य सचिव नियुक्त हुदा समेत सर्वोच्चमा मुद्दा खेपेर सर्वोच्चको निर्णय पछि पद बहाली भएकाहुन् । यसरी कहिल्यै पनि राजनीतिक विवादवाट अछुतो नरहेको खेलकुद क्षेत्र पछिल्लो समय स्थानीयस्तरमा नै विना विवाद प्रतिस्पर्धाहरु हुन थालेकाछन् । सुस्ताउदै गएको खेलकुद क्षेत्र उठ्न लागेको देखेर खेलाडीहरुमा उत्साह थपिएको छ । यो उत्साहलाई कायम राख्न थप खेलकुद क्षेत्र व्यवस्थित हुनुपर्छ ।
तर पालिकास्तरमा हुने खेलकुद र जिल्लास्तरमा प्रतिस्पर्धा गराइने खेलहरुमा कतिपय ठाउँमा बजेटको व्यवस्थापन हुन नसक्दा खेलकुद मैदानको समस्या रहेका छन् । कतिपय खेलकुदका लागि भौतिक सरचना निर्माण भएको भएपनि त्यसलाई सञ्चालन गर्ने स्रोत साधनको अभावमा सोचे जस्तो परिणाम आउन सकेको छैन ।
जिल्ला खेलकुदको लगि बजेट नै नभएको भनेर जिल्ला खेलकुद विकास समितिहरुले गुनासो गर्दै आएकाछन् । प्रदेशले खेलकुदको लागि बजेट प्रस्तुत गर्ने गरेको भएपनि त्यो बजेट स्थानीय निकायको एकमुष्ट हिशाव भएको भनेर भन्ने गरेको छ । यसरी स्थानीय, प्रदेश, संघ बीचको समन्वय नहुदा र खेलकुद क्षेत्र एक अर्कामा अलमलिदा खेलकुद क्षेत्रका नव प्रतिभा खेलाडीहरुले प्रतिस्पर्धा गरेर उत्साहित हुने मौकावाट समेत बञ्चित हुनुपर्ने हो की भन्ने चिन्ताहरु बढ्न थालेकाछन् ।
त्यसकारण अलमलिरहेको खेलकुद क्षेत्रमा पलाउदै गएको आसालाई थप विश्वासको वातावरण बनाउन कमी कमजोरीहरु सुधार गरेर खेलकुदको विकासमा सम्बन्धित पक्षहरुले महत्व दिनुपर्छ र नेपाललाई खेलकुद क्षेत्रवाट पनि विश्व सामु चिनाउन र खेल पर्यटनको लागि सम्भावना भएको नेपालले खेलकुद पर्यटन भित्र्याएर आम्दानी गर्न सक्ने आधारलाई पछ्याउन सक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend