logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित


  • जन आकाश
  • सोमबार, माघ १ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार दोस्रो जित हो ।



दोस्रो खेल खेलेको एपीएफले यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो । दुई खेल खेलेको कोशी प्रदेशको भने यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेश मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १९.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

एपीएफको सजिलो जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय पाली खेले । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५३ बलको सामना गरी ८० रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले तीन छक्का र नौ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान प्रज्वल शाहीले पनि २२ रनको योगदान गरे । उनले ३२ बलमा तीन चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख चार रनमै पेभेलियन फर्किए । सुमित महर्जनले टोलीको खातामा अविजित २० रन थपे । पुरन बीक एक रनमा आउट भए ।

सन्दीप जोरा दुई रनमा अविजित रहे । एपीएफ क्लबले अतिरिक्त रुपमा सात रन पाएको थियो । कोशी प्रदेशका बलर सोनु मण्डल, कमल खत्री, फिरदोष अन्सारी र समिर कार्कीले एक–एक विकेट लिए ।

त्यसअघि कोशी प्रदेशले माथिल्ला पाँच ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । कोशी प्रदेशका लागि छैटौं नम्बरमा ब्याट्सम्यान फिरदोष अन्सारीले अर्धशतक बनाए । फिरदोषले टोलीको खातामा ५५ रन थपे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ८५ बलको सामना गरी आठ चौका पनि हिर्काए ।

सोनु अन्सारीले पनि २० रन बनाए । कप्तान अंकित सुवेदी केवल १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर मिनास थापा भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । आशिष भट्टराई पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । सुजन थपलिया नौ रनमा आउट भए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend