logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

फिल्म ‘चित्रा’ माघ २६ देखि अष्ट्रेलियामा प्रदर्शन हुँदै


  • जन आकाश
  • मंगलबार, माघ १६ २०८०

काठमाडौं । स्वदेशमा प्रदर्शनपछि फिल्म ‘चित्रा’ अब नेपाली डायस्पोराको ठूलो बजार अष्ट्रेलियामा रिलिज हुने भएको छ । अष्ट्रेलियाली हलमा रिलिज हुँदै फिल्मले अन्तर्राष्ट्रिय प्रदर्शनको सुरुवात गर्दैछ ।



यो फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारी लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । यस कारणले पनि अष्ट्रेलियाको प्रदर्शनमा उनलाई सजिलो हुने देखिन्छ । प्रदर्शनको चाँजो मिलाउन उनी त्यहाँ पुगिसकेका छन् ।

‘चित्रा’को प्रदर्शन माघ २६ गते (फेब्रुअरी ९) मा तास्मानियाबाट सुरु हुनेछ । उक्त अवसरमा रेडकार्पेट शोको पनि आयोजना गरिएको छ । पछिल्लो समय अष्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै फिल्म र सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन थालेका छन् ।

तास्मानियापछि अष्ट्रेलियाली सहर सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेट, क्यानबेरा, पर्थ र डार्विनमा पनि फिल्मको प्रदर्शन हुने जनाइएको छ । पारिवारिक र सम्बन्धको कथावस्तुमा आधारित यो फिल्म नेपालमा रिलिज भइसकेको छ ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरेजस्ता सशक्त कलाकारको अभिनय छ । यो फिल्मबाट निर्माता समेत रहेका अधिकारीले रजतपटमा डेब्यु गरेका छन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने अधिकारी कार्यकारी निर्मातामा छन् । फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend