logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपालले टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्लाई सुम्पियो


  • जन आकाश
  • बुधबार, फाल्गुन २३ २०८०

काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको छ ।



सुरुवाती दुई खेल गुमाएको नेपाल लगातार दुई जित निकालेर फाइनलमा पुगेको थियो तर क्षमताअनुसार प्रदर्शन गर्न नसक्ने समस्या दोहोरिँदा उपाधि जित्न सकेन ।

त्रिवि क्रिकेट मैदानमा टस जित्ने टिमले पहिला बलिङ रोज्ने गर्छ । तर मंगलबार नेपालले टस जितेर पनि ब्याटिङ रोज्यो । कप्तान रोहित पौडेलका अनुसार विकेट राम्रो थियो र, कम्तीमा २०० रन बनाएर नेदरल्याण्ड्सलाई दबावमा राख्ने रणनीतिका साथ पहिला ब्याटिङ गर्ने सामूहिक निर्णय भयो ।

सुरुवात राम्रै थियो । चौथो ओभरमा गुग्टेनको बलमा ल्याप सट खेल्ने क्रममा कुशल भुर्तेल २० रनमा बोल्ड हुन पुगे, जतिबेला नेपालको स्कोर २३ रन थियो । त्यसपछि रोहित र आसिफ शेखले इनिङ उकास्दा ९ ओभरमा ८२–१ को अवस्थामा पुग्यो । माइकल लेभिटको १० औं ओभरको दोस्रो बलमा स्कुप खेल्न खोज्दा रोहित २५ रनमा विकेटकिपर स्कटबाट समातिन पुगे ।

१२ औं ओभरमा गुल्सन झाले शरिज अहमदलाई दुई छक्का हाने । १४ औं ओभरको चौथो बलमा आसिफ शेख लेभिटको बलमा ४७ रनमा एलबीडब्लू आउट भए । अर्को ओभरमा गुग्टेनले दीपेन्द्रलाई १ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल दबाबमा पर्‍यो ।

१६औं ओभरमा साइब्रान्ड एंगेलब्रेक्टले मात्रै चार रन खर्चिए । उनी पार्टटाइम स्पिनर भएपनि नेपालले फाइदा लिन सकेन । १७ औं ओभरमा लेभिटलाई कुशल मल्लले लगातार तीन छक्का हाने । तर अर्को ओभरमा कुशल मल्ल क्याच आउट भए ।

ओभरको अन्तिम बलमा करण केसी आउट भए । १९ औं ओभरको पहिलो र दोस्रो बलमा फर्द क्लासेनले गुल्सन झा र आरिफ शेखको विकेट लिए । अन्तिम ओभरमा १० रन जोडेपछि नेपालले २० ओभरमा १८४ रन मात्र बनाउन सक्यो ।

जबकी नेपाली ब्याटरले मध्यक्रममा खुलेर खेल्न सकेको भए २०० रन सजिलै बनाउन सक्थे । १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याड्सले भने सोचे जस्तो सुरुवात गर्‍यो । पहिलो बलमै लेभिटले करण केसीलाई डिप मिडविकेटमा छक्का हानेका थिए ।

उनले पहिलो विकेटका लागि म्याक्स ओडाउडसँग ८ ओभरमा ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । करण केसी, प्रतिश जीसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अविनाश बोहराले बलिङ गरेपनि विकेट लिन सकेनन् । नवौं ओभरमा कुशल मल्लले दुबै ओपनरलाई आउट गर्दै झिनो आशा देखाए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend