logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित


  • जन आकाश
  • सोमबार, चैत्र ५ २०८०

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।



नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो ।

नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।

गत फागुन १८ गते उदघाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिईन् । उनले आफ्नै राजनीतिक संघर्षको उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताईन् । देशकै शक्तिशाली व्यक्तिसँग पटक-पटक निर्वाचनमा लड्दा आफूले गरेको संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको संघर्षको उदाहरण दिँदै मन्त्री चौधरीले हारमा हतोत्साहित हुने र जीतमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गरिन् ।

समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए । नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडौं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।

मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।

त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।

नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend