logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसएमएस फ्रेन्डसिप कप : नेपालले आज भारतको गुजरातसँग पहिलो खेल खेल्दै


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०

काठमाडौँ । राज्य स्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातसँग आफ्नो पहिलो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।



शृङ्खलामा सहभागी हुन नेपाली टोली यसअघि नै भारत पुगिसकेको छ । उक्त शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसैगरी टोलीमा कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द पनि रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।

भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी–२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ ।

यसैगरी तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ ।

त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ । भारत प्रस्तान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी–२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २–० ले विजयी भएको थियो ।

आईसीसी टी–२० विश्वकपका लागि भने नेपालले हालसम्म टोलीको घोषणा गरेको छैन । गुजरात र बरोडा दुबै भारतको घरेलु क्रिकेटका बलिया क्लब हुन् । यी दुबै क्लबले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् । यी टोलीले भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफी र सैयद मुस्ताक अली ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो ।

बरोडा पनि गुजरातकै क्रिकेट टोली हो । बरोडाको घरेलु मैदान भने मोती बाग स्टेडियम हो । बरोडा क्रिकेट संघले यो क्लबको ब्यवस्थापन हेर्ने गर्छ । यी दुबै क्लबले भारतको राष्ट्रिय टोलीलाई थुप्रै चर्चित खेलाडी दिइसकेका छन् । विनु मानकद, अक्सर पटेल, पार्थिव पटेल, मनप्रित जुनेजा, जासु पटेल, दीपक सोधन, जसप्रित बुमराह, पियुष चावलाजस्ता प्रभावशाली खेलाडी गुजरातका उत्पादन हुन् ।

यसैगरी भारतीय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने अंशुमन गायकवाड, विजय हजारे, नयन मोंगिया, किरण मोरे, युसुफ पठान, इरफान पठान, मुनफ पटेल, जहिर खान, हार्दिक पाण्डेया, कुर्णाल पाण्डेया, अम्बाटी रायडु, पिनल शाहजस्ता प्रभावशाली खेलाडी बरोडाका उत्पादन हुन् ।

हाल गुजराज टोलीमा आर्या देसाई, प्रियंक पंचाल, मानन हिंगराजिया, क्षितिज पटेल, उमंग कुमार, उर्भिल पटेल, रिपल पटेल, चिन्तन गाजा, रवी बिस्नोई, प्रियजितसिंह जडेजा, अर्जन नगवसवल्ला, चिराग गान्धी, सौरभ चौहान, सनप्रित बग्गा, कथन पटेल, अक्सर पटेल, सिद्धार्थ देसाई, पियुष चावला, विशाल जैसवाल, हार्दिक पटेल र जसप्रित बुमराहलगायतका खेलाडी आबद्ध छन् ।

यसैगरी हाल बरोडाको टोलीमा ज्योत्सनिल सिंह, साश्वत रावत, प्रत्युष कुमार, शिवालिक शर्मा, भानु पनिया, किनित पटेल, हर्ष देसाई, अभिमन्यु राजपुत, कुर्नाल पाण्डेया, ध्रुव पटेल, हार्दिक पाण्डेया, विष्णु सोलान्की, मितेस पटेल, अनन्त भरवाद, निनद राथव, महेश पिथिया, भार्गव भट्ट, कार्तिक ककाडे, लुकम्यान मेरिवाला, अतित सेठ, बाबासफी पठान, सोएब सोपारियालगायतका खेलाडी छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend