जन आकाश
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थानसहित ‘प्रथम प्रज्ञा स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा गोकर्णेश्वरले लिखु तामाकोशी गाउँपालिकालाई २५–२०, २५–१६ र बेथानचोक गाउँ पालिकालाई २५–१७, २५–१९ अंकले हरायो ।
समूहमा समान दुई जितसहित माडी नगरपालिकाले गोकर्णेश्वरलाई पछ्याइरहेको छ । माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराए पनि गोकर्णेश्वरले दुवै खेल सोझो सेटमा तथा माडीले अन्तिम सेटमा जितेका हुन् ।
अर्को समूहमा मकवानपुरको बागमती गाउँपालिका बलियो अवस्थामा छ । बागमतीले समूहमा रहेका खाँडादेवी गाउँपालिका र पनौती नगरपालिकालाई हराएको हो । पनौतीले तीनवटै खेलमा पराजयको सामना गरेको छ ।
खाँडादेवी गाउँपालिकाले पनि दुई जित हात पारेको छ । खाँडादेवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो । उक्त समूहमा बागमती र खाँडादेवी बलियो अवस्थामा छन् । थाहा नगरपालिका पनि दोस्रो चरणको नजिक पुगेको छ ।
थाहा नगरपालिकाले समूहको दुवै खेलमा जित हात पारेको हो । उक्त समूहमा रहेको घरेलु टोली महाकाल ‘बी’ दुवै खेलमा पराजित भएको छ । उक्त समूहमा रहेका ह्याङ्ले गाउँपालिका र भरतपुर नगरपालिकाले एक–एक जित हात पारेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend