जन आकाश
काठमाडौं । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिता अन्तर्गतको महांकाल गाँउपालिका र थाहा नगरपालिका बीचको सेमिफाइनल खेल वर्षाको कारण एक दिन पछि सरेको छ ।
मंगलबार निर्धारित दोस्रो सेमिपाइनल खेलमा महांकालले पहिलो दुई सेटमा जित हात पारे पछि खेल वर्षाले अवरुद्ध भएको हो । विजेताले फाइनलमा हेटौंडा नगरपालिकासँग खेल्ने छ । हेटौंडाले घ्यामलेक गाउँपालिकालाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुने छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend