जन आकाश
ओजस्वी स्वरका धनी ओम सुनार नेपाली सांगीतिक क्षेत्रको चम्किलो तारा हुन् । आफ्नो जादुमयी स्वरका कारण कयौं स्रोताको मन जित्न सफल सुनार झण्डै डेढ दशक देखि सांगीतिक क्षेत्रमा अनवरण रुपमा सक्रिय छन् । २५० भन्दा बढी गीतमा स्वर दिएका सुनार गायनका अलवा संगीत सृजनामा पनि उत्तिकै सफल छन् ।
शास्त्रिय संगीतको औपचारिक अध्ययन गरेर गायन पेशा अंगालेका कारण पनि सुनारको गायकीमा उत्कृष्टता भेटिन्छ । गायनका आधारभूत तत्वहरु बारे जानकार ओमका कयौं गीतहरु चर्चाको शिखरमा समेत छन् । शास्त्रिय, आधनिक, पप, रक, लोक, भजन, पाश्र्वगायनलगायतका बिभिन्न बिधाका गीतमा स्वर दिएका सुनारले शब्द र संगीतको भाव बुझेर गीत गाउने गर्दछन् । सस्तो लोकप्रियताले भन्दा उत्कृष्ट कर्मले सांगीतिक आयु लामो हुन्छ भन्ने बुझेका सुनार आफ्नो सृजनामा उत्कृष्टता खोज्ने गर्दछन् । शब्द, संगीत र स्वरको त्रिविणीले मात्र कुनै पनि गीत सफल हुन्छ भन्ने मान्यता राख्ने उनी आफुले गाउने गीतको शब्दमा गहनता र संगीतमा मौलिकता हुनै पर्ने बताउँछन् ।
त्यसो त सुनारको दैनिकी रियाजबाट हुन्छ । आफ्नो स्वरमा थप निखारता ल्याउन दैनिक रुपमा रियाज गर्ने सुनार दैनिक अभ्यासबाट नै स्वरमा मिठास ल्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छन । त्यही अभ्यासले उनी जुनकुनै सुर र रागमा आफुलाई फिट गराउन सफल छन् । सुनार सुर, ताल र रागको गहिरो ज्ञान भएका गायकमा पर्दछन् ।
गायनमा उत्कृष्टता खोज्ने उनको खुबीका कारण उनले बिभिन्न अवार्डहरुमा उत्कृष्ट गायनको अवार्ड समेत प्राप्त गरिसकेका छन् । उत्कृष्ट गायनका लागि सुनारले ‘पीम नेपाल फिल्म फेष्टिवल २०२०’, ‘सगरमाथा म्युजिक अवार्ड २०२२’, ‘नाट्टेश्वर म्युजिक अवार्ड २०२३’, ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२३’, ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२३’ लगायतका अवार्डहरु समेत प्राप्त गरेका छन् । यस्तै संगीत प्रतिको सर्मपण र सांगीतिक क्षेत्रमा दिएको योगदानका लागि सुनार ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान २०२३’, ‘पीम नेपाल कला सम्मान २०२२’, ‘कलाकार तथा सर्जक सम्मान २०२३’, ‘राष्ट्रिय फिल्म साँस्कृतिक रत्न सम्मान’, ‘नेपाल अफ्रिका फिल्म फेष्टिवल – कला सम्मान’, ‘श्रष्टा तथा सर्जक सम्मान’ लगायतका सम्मानबाट सम्मानित भइसकेका छन् ।
संगीतमा उनको बिज्ञता अनि स्वर, शब्द र संगीतलाई बिश्लेषण गर्न सक्ने क्षमताकै कारण सुनारले विभिन्न अवार्ड समारोहमा निर्णायका रुपमा समेत रही काम गरेका छन् । उनले ‘ज्योति फिल्म्स् म्युजिक अवार्ड २०२३’, ‘नीम अवार्ड २०२३’, ‘अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव २०२२’, ‘एपिक म्युजिक अवार्ड २०२१’ लगायतमा निर्णायका रुपमा रही आफ्नो सांगीतिक कौशलता प्रस्तुत गरिसकेका छन् ।
सुनारका कयौं गीतहरु सार्वाधिक लोकप्रिय गीतको सुचिमा पर्दछन् । उनका ‘मैले माया लगाए’, ‘तिमि बिना’, ‘सुपारी काचो’, ‘आमैले भन्थे धाराको पानि’, ‘चंद्रमाझैँ राम्री छौ’, ‘यो मन’, ‘काउसो लाइ सक्यो’, ‘बुद्ध बर्न इन नेपाल’, ‘मायाले सजाउँला’ लगायतका गीतहरु अडियो भिडियो साझेदारी सञ्जालहरुमा लाखौं पटक हेरिएका गीतमा पर्दछन् । आफ्ना हिट गीतका कारण सुनार पछिल्लो समय मेला महोत्सहरुमा समेत सार्वाधिक खोजिने गायक हुन् । उनले थुप्रै स्टेजहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन् । लाइभ गायनमा समेत अब्बल सुनारले स्टेज प्रस्तुतिमा समेत दर्शकहरुको वाहवाही बलुटेका छन् ।
२०६६ सालबाट औपचारिक गीत रेकर्ड आरम्भ गरेका सुनारले २०६८ सालमा पहिलो गीति एल्वम ‘सुगन्ध’ बजारमा ल्याएका थिए । पहिलो एल्वमका गीतहरु अत्यन्त सफल भएपछि उनलाई अन्य संगीतकार बाट समेत गायनको अफर आउन थाल्यो । त्यसपछि भने उनले फर्केर हेर्नु परेन । बहुभाषामा दख्खल राख्ने सुनारले नेपाली मात्र नभएर हिन्दी भाषाका गीतमा समेत स्वर दिएका छन् ।
सुनार आफ्ना गीत मार्फत आम दर्शक श्रोताहरुमा मनोरञ्जन मात्र नभएर सामाजिक सन्देश समेत प्रवाह गर्न सफल छन् । उनका केही गीतहरुले सामाजिक सरोकारका विषयलाई जोडदार रुपमा उठान गरेका छन् । शान्तिका प्रतिक गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश दिन ‘बुद्ध वर्न इन नेपाल’, जातिय विभेद बिरुद्ध शशक्त आवज बुलन्द गर्दै ‘मायाले सजाउँला’, कोरोना बिरुद्धको लडाईमा फ्रन्ट रोहमा खटिने सपुतहरुको सम्मानमा ‘सलाम छ’ जस्ता गीतहरु तयार गरेर उनले एक गायकको सामाजिक उत्तर दायित्व समेत निर्वाह गर्दै आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend