जन आकाश
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि भारी वर्षा सुरु भएको थियो ।
४५ मिनेट वर्षा भएपछि रोकिएको थियो। त्यसपछि पिचको कभर हटाइएको थियो। तर फेरि वर्षा सुरु भएपछि खेल रद्द गरिएको हो। नेपाली टोली :रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल।
नेपालको अन्तिम तयारी
विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिज इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ६ मध्ये ४ खेलमा जित निकालेको थियो।
तर टी-२० विश्वकप उद्घाटनअघि आइसिसीको तालिकामा खेलेको पहिलो वार्मअप खेल नेपालका लागि खराब रह्यो । स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीबिना क्यानडाविरूद्ध खेलेको नेपाल कमजोर ब्याटिङ गर्दा ६३ रनले पराजित भएको थियो।
स्थानीय समयअनुसार बिहीबार बिहान १० देखि १ बजेसम्मको गर्मी मौसममा तीन घन्टा नेटमा अभ्यास गरेपछि ग्रान्ड प्रिएरी मैदानमा आइपुगेका रोहितले अमेरिका विरूद्धको खेलमा पिच नियाल्नेदेखि आफ्ना गल्ती सुधार गर्ने मौका मिल्ने बताए।
टेक्सासको लुइसभिलको एक क्रिकेट एकेडेमीमा अभ्यास गरेपछि रोहित कप्तान मिटिङका लागि ग्रान्ड प्रिएरी आइपुगेका थिए। त्यहाँ उनले अमेरिकी टोलीका कप्तान मोनांक पटेल र बलर अली खानसँग केहीबेर कुराकानी समेत गरेका थिए।
अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बंगलादेश विरूद्धको तीन खेलको टी-२० सिरिज २-१ ले जितेको थियो। त्यसो त रोहितले आइसिसीसँगको कुराकानीमा नेपाल टी-२० विश्वकपमा सहभागी मात्र हुन नभइ खेल जित्न आएको बताएका थिए।
नेपाली टोलीले अमेरिका विरूद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फिट भएका थिए। यसअघि दीपेन्द्रले ह्युस्टनको अभ्यास खेल र क्यानडाविरूद्धको वाम अप खेल चोटका कारण गुमाएका थिए।
नेपालले अमेरिकासँग खेलेको पाँच दिनपछि यही मैदानमा यो विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘डी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ खेल्नेछ।
त्यसपछि नेपालले जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। नेपालको बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
१० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले समूहमा रहेका पाँच टोली मध्ये शीर्ष दुईमा परेर सुपर-८ मा पुग्ने महत्वाकांक्षी लक्ष्य समेत बनाएको छ। त्यसका लागि नेपालका लागि नेदरल्यान्ड्स विरूद्धको पहिलो खेल महत्वपूर्ण हुनेछ।
पहिलो खेल जितेको अवस्थामा नेपालले बाँकी तीन मध्ये एक खेल जिते पनि दोस्रो हुने सम्भावना हुनेछ। समूहमा नेपालले नेदरल्यान्ड्सबाहेक प्रतिस्पर्धा गर्ने तीन टोली टेस्ट टोली हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend