logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालेन साह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।



५ र ६ असार  जुन १९ र २०, २०२४० मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनले ८असारमा स्वदेश फर्कनेछन् । बालेनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।

मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा मेयर साहले सम्बोधन गर्नेछन् ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति बहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend