जन आकाश
काठमाडौं । आइसिसी टी-२० विश्वकपको सुपर-८ समीकरणको टुंगो लागेको छ।
२० देश सम्मिलित जारी विश्वकपमा चार समूहमा विभाजन गरिएको थियो। पाँच देश रहेको समूहबाट विजेता र उपविजेता अन्तिम आठमा प्रवेश गरेका छन्। समूह ए बाट भारत र अमेरिका अन्तिम आठमा प्रवेश गरेका छन्। भारतले समूह चरणका तीन खेल जित्दा एक खेल रद्द भएपछि अंक बाँडेको थियो। भारत ७ अंकसहित समूहको शीर्षस्थानमा रहेर अन्तिम आठमा प्रवेश गरेको हो।
दोस्रो स्थानमा अमेरिका ५ अंक जोड्दै अन्तिम आठमा प्रवेश गरेको हो। समूह ए बाट पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिए। समूह ‘बी’ बाट चारै खेल जितेर ८ अंकसहित शीर्षस्थान कायम गर्दै अष्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको छ। उक्त समूहबाट इंगल्याण्ड दोस्रो स्थान कायम गर्दै अन्तिम आठमा प्रवेश गरेको छ।
समूह बी बाट स्कटल्याण्ड, नामिबिया र ओमान बाहिरिए। समूह सी को अन्तिम खेल बाँकी छँदै सुपर-८ मा पुग्ने देशको टुंगो लागिसकेको छ। सो समूहबाट अफगानिस्तान र वेस्ट इण्डिज सुपर-८ मा पुग्नेछ।
यी दुई देशबीच समूह चरणकै अन्तिम खेल हुन बाँकी छ। दुवैको ६र६ अंक छ। जित्ने टोली समूहको शीर्ष स्थान र पराजित हुने टोली दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछन्।
समूह सी बाट न्युजियल्याण्ड, युगान्डा र पपुवा न्युगिनी बाहिरिए। नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश अन्तिम आठमा प्रवेश गरेका छन्। दक्षिण अफ्रिका समूह चरणमा अपराजित हुँदै ८ अंक जोडेर अन्तिम आठमा प्रवेश गरेको छ। बंगलादेश तीन जित निकालेर ६ अंक जोड्दै अन्ति आठमा प्रवेश गरेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend