जन आकाश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म “नमेटिने घाउ” मा डबिङ गरेका छन्।
शनिबार दिउँसो अनामनगरस्थित द म्युजिक इरा रेकर्डिङ स्टुडिओमा पुगेर उनले फिल्ममा आफूले निर्वाह गरेको भूमिकाको दृश्यका लागि स्वरांकन गरेका हुन्।
यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन्। वास्तविक घटनामा आधारित रहेर बनेको फिल्मलाई अभिनेता रमित ढुंगानाले निर्माण एवं निर्देशन गरेका हुन्।
फिल्मले एसिड आक्रमणको घटनाविरुद्ध सन्देश दिने उनले बताएका छन्। फिल्ममा ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन्। तीन महिनाअघि उनले फिल्मको छायांकन गरेका थिए। यो फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अभिनय गरेका छन्।
३३ जना एसिड आक्रमणका पीडितको कथालाई फिल्ममा समेटिएको छ। शिवम् अधिकारीले यसको कथा लेखेका हुन्। मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित, सुनिल कटुवाल, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले यसमा अभिनय गरेका छन्।
रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा ‘नमेटिने घाउ’ निर्माण भएको हो। यसको प्रदर्शन मिति घोषणा भइसकेको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend